सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाले आगामी कात्तिकबाट विद्युत उत्पादन गर्ने भएको छ ।
हाल तार तान्ने काम अन्तिम चरणमा पुर्याएको आयोजनाले कात्तिकदेखि विद्युत उत्पादन सुरु गर्ने भएको हो । कम्पनीले असोजभित्र सबै परिक्षण सकाएर कात्तिकमा उत्पादन थाल्ने जनाएको छ । पछिल्लो पटक मध्य भोटेकोशी आयोजनाको निरन्तरको अवरोधपछि गत महिना ११ करोड दिने सहमति भएपछि तार तान्ने काम अन्तिम चरणमा पुगेको हो । प्रसारण लाइनको करिब ७०० मिटर तार तान्न बाँकी रहेको मध्यभोटेकोशी जलविद्युत कम्पनीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशीको बिजुली यसै प्रसारण लाइनमार्फत प्रवाह हुनेछ । सो आयोजनाको चार वर्षमा निर्माण सम्पन्न हुनेगरी २०७० सालमा निर्माण सुरु भएको थियो । त्यसअघि २०६८ सालमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदविक्री सम्झौता भएको थियो ।
आयोजनामा भएको ढिलाईासँगै लागतमा पनि वृद्धि भएको छ । पहिलो चरणमा १२ अर्ब २८ करोड लागत रहेको आयोजनामा निर्माण भएको ढिलाईसँगै २० अर्बको हाराहारीमा निर्माण खर्च पुगेको छ ।