काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।
प्रहरीको साईबर व्युरोको टोलीले उनलाई आज भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । विद्युतीय कसुरसम्बन्धि अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटार स्थित प्रसाई निवासमै पुगेको हो । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा साईबर व्युरोबाट खटिएको टोलीले पक्राउ गरेको साईबर व्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले जानकारी दिनुभयो । पक्राउ गर्न गएका प्रहरी टोलीलाई अवरोध गर्दै घरको गेट नै नखुलेपछि प्रहरीले कम्पाउण्ड नाघेर भित्र प्रवेश गरि प्रसाईलाई नियन्त्रणमा लिएको हो ।
साईबर व्युरोबाट पक्राउ गर्न गएको प्रहरी टोलीलाई एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपसब्द प्रयोग गरिएपछि प्रहरी भ¥याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यस क्रममा हातपातमा उत्रिएका प्रसाईका अंगरक्षकलाई समेत नियन्त्रणमा लिईएको थियो । प्रहरीले सुरुमा ३ मिनेटभित्र ढोका खोल्न भनेपनि एक घण्टासम्म ढोका नखुलेपछि बलजफ्ती भित्र पसेर प्रसाईलाई पक्राउ गरेको हो । प्रसाईलाई पक्राउ गरि भोटाहिटीस्थित साईबर व्युरो लगिएको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । सोही उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । काठमाडौँ जिल्ला अदालतले असोज २ गते नै प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्र्तगत साईबर व्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अनुमति दिईसकेको छ ।