जिरी (दोलखा) । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरुको दोस्रो ठुलो चाड आजदेखि सुरु भएको हो । यो वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । समितिका अनुसार भोलि बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि रहेको छ । यसैगरी, धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ । गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ । यो वर्षको भाइटीका १० गते बिहीबार परेको छ । कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ ।










