images
images

दोलखा गठबन्धनको काठमाडौंमा वृहत सभा, उम्मेदवारहरुले भने, ‘जनताको सेवक बन्न चाहन्छौं’

  • ५ कार्तिक २०७९, शनिबार १६:१९

काठमाडौं । लोकतान्त्रिक–वाम गठबन्धन दोलखाले संघीय राजधानी काठमाडौंमा आज वृहत चुनावी सभा गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतको गठबन्धनले आज काठमाडौंमा चुनाव लक्षित वृहत चुनावी सभा गरेको हो । सभालाई गठबन्धनका दलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरुले सम्वोधन गरेका छन् । सभालाई सम्वोधन गर्दै नेताहरुले प्रतिगमनलाई परास्त गरी संबिधानको रक्षा र मुलुकको समृद्धिकालागि गठवन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । सभामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमन बिरोधी आन्दोलनका क्रममा वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै दलहरु वीचको गठवन्धन निरन्तर जारी रहने बताउनुभयो । उहाँले नयाँ रुप र मोर्चा बनाएर प्रतिगमनकारीहरु चुनावमा उत्रिएको भन्दै परिवर्तकामी सवै शक्ति मिलेर प्रतिगमनकारी शक्तिलाई जनमतवाट पराजित गर्न अपरिहार्य भएको धारणा राख्नुभयो ।

सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले चुनावी तालमेल र गठवन्धन अहिलेको आवस्यक्ता भएको भन्दै गठवन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । दोलखा जिल्ला जलविद्युत र पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको जिल्लाभएको भन्दै दोलखालाई नमूना जिल्ला बनाउनकालागि गठवन्धनका नेताहरुलाई विजयी गराउन जरुरी रहको बताउनुभयो । गठबन्धनवाट दोलखाको प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्की र प्रदेशसभा ‘क’ का उम्मेदवार कुन्दनराज काफ्ले तथा प्रदेशसभा ‘ख’ का उम्मेदवार बर्मा लामाले सभालाई सम्वोधन गर्दै दोलखाको विकास, समृद्धि र जनताको जीवनस्तर उकास्नकालागि आफूहरु स्वयँसेवक बनेर जनतामाझ गएको बताउनुभयो । ‘हामीलाई विजयी गराउनुहोस्, इमान्दारिताकासाथ तँपाईको सेवामा समर्पित हुनेछौं,’ उम्मेदवारहरुको साझा प्रतिवद्धता थियो ।

काठमाडौंको बगिखानास्थित स्काई दरवार पार्टी प्यालेसमा सम्पन्न सभामा दोखाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका अधिकाँश नेताहरुको सहभागिता थियो भने काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखालीको उत्साहपूर्ण सहभागिता थियो । सभाको आयोजना लोकतान्त्रिक–वाम गठवन्धन दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको हो । लोकतान्त्रिक–वाम गठबन्धनले पहिलो पटक वृहत सभाको आयोजना गरेको हो । ठूलो संख्याका दोलखाली रोजगारी र व्यवसायको सिलसिलामा काठमाडौं उपत्यका बस्ने भएका कारण गठबन्धनले पहिलो चुनावी सभा संघीय राजधानीमै गरेको हो ।