रामेछाप । सिन्धुलीको सुनकोशी नदीले बगाएको खुर्कोट पुलबाट आजदेखि सवारीका साधनहरु गुड्न थालेका छन् ।
असोज दोस्रो साताको भारी वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको हो । बाढीले बगाएको २५ दिनपछि रामेछाप–खुर्काेटलाई बेलिब्रिजले जोडिएको छ । सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो ।
उक्त खण्डमा प्राविधिक एवम नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै आजदेखि सो पुलबाट सवारीसाधन सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज बेलिब्रिज निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान गर्नुभएको छ ।
बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि जानुभएका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको भन्दै सम्मान गर्नुभयो । आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्ने सक्नेछ ।
गत असोज दोस्रो साता आएको अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले रामेछापतर्फको ५१ मिटर पक्की सडक पुल बगाएको थियो ।