images
images

दोलखाका ‘विपद् संकटग्रस्त’ तीन स्थानीय तहले डेढ करोड राहत पाउने

दोलखा । असोज दोस्रो साता आएको बाढी पहिरो र डुवान पछि ‘विपद् संकटग्रस्त’ क्षेत्र घोषणा भएका दोलखाका तीन स्थानीय तहले डेढ करोड राहत पाउने भएका छन् ।

सरकारले विपद संकटग्रस्त घोषणा भएका स्थानीय तहलाई तीन समुहमा बर्गीकरण गरि एक करोड देखि ५० लाखसम्म राहत प्रदान गर्ने निर्णय गरेकोमा दोलखाका तीन स्थानीय तहले डेढ करोड पाउने भएका हुन् । सरकारको वर्गीकरणमा सामान्य प्रभावितमा परेका जिल्लाका विगु, गौरीशंकर र शैलुङ गाउँपालिकाले प्रतिपालिका ५० लाखका दरले राहत पाउनेछन् ।

सरकारले बाढी पहिरोबाट भएको क्षतिका आधारमा प्रभावित जिल्लाहरुलाई अति प्रभावित, प्रभावित र सामान्य प्रभावित गरि तीन तहमा वर्गीकरण गरेको थियो । जसअनुसार अति प्रभावित काभ्रेपलाञ्चोकका पाँच सहित ९ पालिकाले एक करोडका दरले राहत पाउने भएका छन् ।

यस्तै, काभ्रेपलाञ्चोकका ५, सिन्धुलीका दुई र सिन्धुपाल्चोकको एक सहित प्रभावित १२ पालिकालाई ७५ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको थियो । दोलखाका ३ र रामेछापका ८ सहित ५० पालिका भने सामान्य प्रभावितमा परेका हुन् । ती स्थानीय तहलाई प्रतिपालिका ५० लाख प्रदान गरिने भएको हो ।

गत विहिबार (कात्तिक १ गते) बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गरेको सो निर्णय मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको छ ।

असोज १० देखि १३ गतेसम्म आएको लगातारको वर्षाका कारण बाढी, पहिरो र डुवानबाट ठुलो जनधनको क्षति भएपछि सरकारले दोलखाका तीन सहित प्रभावित जिल्लाका ७१ स्थानीय तहलाई ‘विपद संकटग्रस्त’ पालिका घोषणा गरेको थियो ।