काठमाडौं । सरकारले गत असोजमा विपदमा ज्यान गुमाएका मृतकका परिवारलाई राहत प्रदान गरेको छ ।
गृह मन्त्रालयले गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको हो । विपद्मा परी ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको छ ।
विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको प्रवक्ता तिवारीले बताउनुभयो । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ जना मृतक परिवारले राहत पाएका छन् ।
यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २÷२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ । विपद्मा परी १७७ जना घाइते भएका थिए । १८ जनाको भने अझै अवस्था अज्ञात छ ।