images
images

लामो समयपछि जिरीमा देखिन थाले विदेशी पर्यटक

जिरी(दोलखा) । लामो समयपछि सगरमाथाको प्रवेशद्धारको रुपमा रहेको जिरीबाट विदेशी पर्यटकहरु हिमाल आरोहणको लागि जान थालेका छन् ।

विगत करिब १०–१५ वर्षदेखि सुनसान जस्तै बनेको जिरीमा फेरी विदेशी पर्यटकहरुको चहल पहल बढेको हो । हाल उनीहरु जिरीलाई मुख्य मार्ग बनाएर सोलुखुम्बु–लुक्ला हुँदै हिमाल आरोणका लागि जान थालेका हुन् ।

कतिपय जिरीबाट पदयात्रा गर्दै लुक्का जान्छन् भने कतिपय सुमोमा यात्रा गरेर सोलुखुम्बु पुग्छन् । पर्यटकीय सिजन रहेको यो बेला काठमाडौंबाट जिरी आएर एक रात बस्ने र लुक्लाको पदयात्रा सुरु गर्ने पर्यटकहरु भेटिन थालेका छन् । आइतबार काठमाडौं हुँदै जिरी आइपुगेकी इटलियन नागरिक ‘सोफिया बाइनालो’ले आफुहरु जिरी एक रात बसेर भोलीपल्ट लुक्लाको लागि प्रस्थान गर्ने बताउनुभयो ।

विगतका वर्षहरुमा हिमाल आरोहणको सिजनमा समेत जिरीमा विदेशी पर्यटकको संख्या नगन्य मात्रामा हुन्थ्यो । तर, यो पटक दशैंपछि नेपाल सरकारबाट अनुमति लिएर जिरी हुँदै हिमाल आरोहणका लागि बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । दैनिक जसो विदेशी पर्यटकहरु जिरी हुँदै बाहिरिने क्रम जारी रहेपनि एकिन तथ्यांक भने छैन ।

प्रहरी चेक पोष्टहरुमा यस्तो तथ्यांक हुनुपर्ने भएपनि दोलखा प्रवेश गर्ने मार्ग प्रहरी चौंकी खरिढुंगा र इलाका प्रहरी कार्यालय जिरीमा पर्यटकको बारेमा रिपोर्ट र तथ्यांक नै छैन ।

इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक घनेन्द्र हाङ खजुमले पर्यटक प्रहरीको व्यवस्था नभएका कारण तथ्यांक उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

यता, उद्योग वाणिज्य सँंघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले पछिल्लो पटक विपी राजमार्ग बन्द हुँदा जिरीमा विदेशी पर्यटकहरु आउन थालेको बताउनुभयो । उहाँका अनुसार जिरी हुँदै सोलुखुम्बु जाने सवारीका साधनमा बढी विदेशी पर्यटक आउने गरेका छन् । पर्यटकहरुको आगमनले जिरीका होटल व्यवसायीहरुलाई केही राहत मिलेको छ ।

जिरीका व्यवसायी केशव कार्की (माडे)ले पनि जिरीमा पछिल्लो ७–१० वर्ष यताकै बढी विदेशी र आन्तरिक पर्यटक भित्रिएको बताउनुभयो । विदेशी पर्यटकहरु जिरी आउने र जिरी हुँदै बाहिरिने क्रम बढ्दा बजार क्षेत्रमा चहल पहल बढेको छ ।

जिरी नगरपालिकाले भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा यो वर्ष विदेशी पर्यटकहरु समेत धमाधम आउन थालेका छन् ।