काठमाडौँ । भारतको दिल्लीबाट काठमाडौँ आएको भिस्टारा एयरको जहाजमा बम रहेको हल्लापछि नेपाली सेना र प्रहरीले विमानस्थलमा सर्च अपरेशन सुरु गरेको छ ।
दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको सो विमानमा बम रहेको सूचना आएपछि सेना र प्रहरीले सर्च अपरेसन सुरु गरेको हो । विमानस्थलमा सेना र प्रहरीको तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ । बम रहेको सूचना आएपछि उपत्यका प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरक्षक (एआईजी) किरण बज्राचार्य आँफै विमानस्थल पुगेकी थिईन् ।
सूचना प्राप्त भएलगत्तै सावधानी पूर्वक जाँच भएपछि अहिलेसम्म कुनै शांकास्पद वस्तु नभेटिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । विमनमा रहेका सबै यात्रु ओरालिएको छ भने यात्रुहरुको लगेज एक्स–रे गर्न थालिएको छ । सेनाको बम डिस्पोजल टोली विमानस्थलमै तैनाथ रहेका छन् ।
युके १५५ कलसाईनको सो जहाजमा १५७ यात्रु सवार छन् । आज दिउँसो ४ बजेर ११ मिनेट जाँदा अवतरण भएको विमानमा बम रहेको हल्लापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान–अवतरण समेत प्रभावित भएको थियो । यद्धपी विमानस्थल भने सूचारु भईसकेको छ ।
सुरुमा सो विमानमा बम रहेको सूचना भिस्ताराको ग्राउण्डमा सेक्युरीटि जाँच गर्ने कर्मचारीलाई आएको थियो । भारतीय नम्बरबाट कर्मचारीलाई भिस्तारको दिल्ली–काठमडाौँको फ्लाईट नम्वर १५५ जहाजमा बम रहेको सूचना प्राप्त भएको थियो । नेपाललाई भने जहाज दिल्लीबाट उडिसकेको एक घण्टापछि मात्रै सो सूचना प्राप्त भएको थियो । बमबारे भारतीय नम्वरबाट ह्वाट्सएपमा सूचना आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुुभयो ।
भारतमा पछिल्लो एक सातामा कम्तिमा सय विमानमा बम रहेको भन्दै गलत सूचना प्रवाह भएको बताईएको छ । बम राखिएको सूचनापछि भारतबाट भएका विभिन्न अन्तरािष्ट्रय उडानसमेत डाईभर्ट भएका छन् ।