images
images

रामबोलेको कालिदेवी मन्दिरमा भव्य मेला, फुलको डोली बोकेर जाने भिडले छायो रौनकता

जिरी (दोलखा) । दोलखाको ऐतिहासिक मठमन्दिर मध्ये एक मानिने रामबोलेको कालीदेवी मन्दिरमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ ।

जिल्लाको जिरी नगरपालिका वडा नम्बर ८ रामबोले स्थित कालिदेवीको मन्दिरमा यो बर्ष पनि भव्य मेला लाग्ने भएको हो । कालिदेवी मन्दिरमा प्रत्येक वर्ष एकादशीदेखि पञ्चमीसम्म एक साता भव्य मेला लाग्ने गर्दछ । तर, एक साता अघिदेखिनै मन्दिर परिसरमा सोलीडोली लिएर जाने दर्शनार्थीको चहलपहल बढेको छ । यो बेला कालिदेवी मन्दिरको मेलामा दैनिक आन्तरिक तथा बाह्य दर्शनार्थीको भिड बढ्ने गरेको मन्दिर सँरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । रामबोलेमा मेला लाग्ने अवधिमा दैनिक सैंयौंको संख्यामा दर्शनार्थीको भिड हुने गरेको छ । विशेषगरी रामबोलेमा फुलको डोली लिएर दर्शनका लागि जाने दर्शनार्थीको संख्या बढ्दो छ ।

कालीदेवी मन्दिरमा आफ्नो मनोकांक्षा पुरा होस् भन्ने कामनाका साथ ठूलो सँख्यामा श्रद्धालु भक्तजन पुग्ने गरेका छन् । सो मन्दिरमा सैंयौं पाठी, परेवा र भालेको बलीपुजा गर्ने गरिन्छ । प्रत्येक वर्ष भव्य मेला लाग्ने सो मन्दिरमा दोलखा दोलखा, रामेछाप र आसपासका जिल्ला सहित राजधानी तथा भारतदेखिका दर्शनार्थीहरु आउने गर्दछन् । कालिदेवीमा मेला अवधिमा बाजागाजा, सोेली डोली र झाँकीनाच सहित भव्य मेला लाग्छ ।

साक्षात् शक्तिवान देवीको रुपमा पुजिने कालिदेवी मन्दिर जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्य मध्ये एक हो । विगतमा रामबोले मन्दिरमा पूर्णिमा र पञ्चमीका दिन रातभर युवायुवती जुहारी खेल्ने र जुहारी जित्नेले विवाह गरी लैजाने चलन थियो । तर, पछिल्लो समय यस्तो चलन हटेको छ । बदलिँदो समय र परिस्थितिसँगै जुहारी खेलेर जित्नेले विवाह गरी लैजाने र मेला भर्न जाँदा युवायुवतीबीच जुहारी खेल्ने तथा तानेर विवाह गरी लैजाने क्रम हटेर गएको हो । अहिले यसको रौनकता देख्न नपाइएपनि धर्ममा विश्वास राख्ने श्रद्धालुहरु मनले चिताएको कुरा पुग्ने विश्वासका साथ कालिदेवी मन्दिर पुग्छन् ।

हेर्नुहोस, तस्विरहरु