images
images

काठमाडौंमा हुने प्रदर्शनले उब्जायो तरंग, सुरक्षा र सावधानीको लागि बढ्यो तयारीको दौडधुप

  • ६ मंसिर २०८०, बुधबार १६:२७

काठमाडौं । काठमाडौं उपत्यकामा भोली प्रर्दशन हुने भएपछि तरंग पैदा भएको छ । भोली हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकार, प्रहरी प्रशासन र सम्बन्धीत निकायमा सुरक्षा र सावधानीको दौडधुप बढेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगले भोलिको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । भोली काठमाडौँमा हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको हो । भोली नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजधानीमा छु्ट्टाछुट्टै प्रदर्शन हुने भएपनि आयोगले यस्तो आग्रह गरेको हो । प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक भएका सूचना तथा सामाचारहरुप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।

दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्तिहरु दिने जस्ता गतिविधिहरु भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरुमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भएपनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरुकै प्राथमिक दायित्व हुने स्मरण गराएको छ ।

सुरक्षा व्यवस्थापन गर्न डीआईजी नेतृत्वमा कमाण्ड सेन्टर

यसैबीच, बल्खु र तीनकुने क्षेत्रमा भोली हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ । नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । डीआईजीको नेतृत्वमा कमाण्ड सेन्टरक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

उपत्यकाको सडकमा निस्किँदा प्रहरीलाई फोन गर्न आग्रह

यस्तै, भोलि काठमाडौँ उपत्यकाको सडकमा ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गर्न आग्रह गरिएको छ । भोलि मंसिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न संगठन तथा समूहले विरोध प्रदर्शन गर्ने भएकाले सकेसम्म सवारीसाधन लिएर सडकमा ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपिल गरेको हो । ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।