images
images

ओखलढुंगामा माथिबाट खसेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु

  • ९ माघ २०७८, आईतवार ०५:१३

ओखलढुंगा ।ओखलढुंगामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट खसेको ढुंगाले किच्दा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको बोलेरो जिपलाई ढुंगाले किच्दा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका वडानम्बर १ का ७ वर्षिया युनिषा कोइराला, १० वर्षिय ईश्वर कोइराला र मानेभ¥याङ गाउँपालिका वडा नम्बर १ मोलीका ३० वर्षिय हेमबहादुर मगरको मृत्यु भएको हो । आज बिहान करिब ९ बजे सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ जाँदै गरेको बोलेरो गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट निकालेको ढुंगा पल्टिएर किच्दा तिन जनाको घटनास्थलमै मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो ।

ढुंगाले किचेर जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जिव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् । घाइतेमध्ये देवबहादुर र सञ्जिवलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ भने कोइरालाको अवस्था सामान्य रहेकाले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।