images
images

विगु गाउँपालिकामा पनि फैलियो कोरोना, एक दर्जन बढीमा संक्रमण

  • ९ माघ २०७८, आईतवार ०९:५६

जिरी (दोलखा) । दोलखाको विगु गाउँपालिकामा पनि कोरोना संक्रमण फैलिएको छ ।

यसअघि जिल्लाको ८ वटा स्थानीय तहमा कोरोना फैलिदा विगु गाउँपालिकामा कोरोना संक्रमण हुनेको संख्या शुन्य थियो । केही दिन अघिदेखिनै विगुमा संक्रमितहरु फेला परिरहेपनि जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा भने उल्लेख गरिएको थिएन । आज विगुमा एक जना मात्रै संक्रमित थपिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा भएपनि केही दिनदेखि आजसम्म गरी विगुमा एक दर्जन बढी मानिसमा कोरोना देखिएको पाइएको हो । विगु गाउँपालिकाका स्वास्थ्य संयोजक ईश्वर कुमार खड्काले विगुमा गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का दम्पत्ती सहित १८ जनामा कोरोना देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिजो एकै दिन ९ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै दोलखाको ९ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।

यसैबीच, आज जिल्लाभर ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिकामा ८८ जनाको एन्टीजीन परिक्षण भएकोमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सबै भन्दा बढी भीमेश्वर नगरपालिकामा १२ जना पुरुष र ८ जना महिला गरी २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जिरी नगरपालिकामा ११ जना, शैलुङ गाउँपालिकामा १० जना, कालिञ्चोक र तामाकोशी गाउँपालिकामा २/२ जना र बैतेश्वर तथा विगु गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६३ पुगेको छ ।