images
images

पशुपति स्मृति अस्पतालमा उपचार सेवा महंगो, शुल्क घटाउन नागरिक समाजको आग्रह

  • ९ माघ २०७९, सोमबार १२:४८

जिरी (दोलखा) । दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पतालले सेवाग्राहीलाई शुल्क लिएर उपचार सेवा दिने निर्णय गरेपछि नागरिक समाजका अगुवाहरुले विरोध जनाएका छन् ।

नागरिक समाजका अगुवा, उद्यमी व्यसायि तथा सञ्चारकर्मीले एक अपिल जारी गर्दै निजी अस्पतालले भन्दा पशुपति चौलागाई स्मृति अस्पतालले महंगो शुल्क लिएर उपचार सेवा दिने निर्णय गरेको भन्दै त्यसको विरोध जनाएका हुन् । प्रदेश सरकार मातहत सञ्चालनमा रहेको यो अस्पतालले विगतदेखि निशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएकोमा अहिले अस्पताल सञ्चालनका लागि स्रोत अभाव हुँदै गएको र व्यवस्थापनमा संकट चुलिँदै गएको कारण देखाउँदै महंगो शुल्क निर्धारण गरेको छ ।

यस अघि प्राथामिक स्वास्थ्य केन्द्र रहेको अस्पताललाई तत्कालिन सरकारले न्याय हेल्थ नेपाल नामक गैरसकारी संस्थालाई निशुल्क उपचार सहितको बिशेषज्ञ सेवा दिने गरी २०७२ सालमा १० बर्षका लागी व्यबस्थापनको जिम्मा दिएको थियो । तर आफ्नोे संस्थामा विदेशी अनुदान रोकिएको भन्दै गत बर्षको कार्तिकमा फिर्ता भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरिकोट सहित ५ ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको थियो । त्यसपछि पनि निशुल्क सेवा दिँदै आएको अस्पतालले अहिले सेवा शुल्क निर्धारण गरेको छ । हालै मात्रै अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिको बैठकले निर्धारण गरी सार्वजनिक गरेको दररेट सदरमुकाम चरिकोटकै निजी अस्पतालको भन्दा चर्काे रहेको नागरिक समाज, उद्यमी व्यसायि तथा सञ्चारकर्मीहरुको ठहर छ ।

प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जिवी मास्के, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामेश्वर मानन्धर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाई, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ र दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठ लगायत १८ जनाद्धारा हस्ताक्षरित अपिल मार्फत अस्पतालको सो निर्णय तत्काल फिर्ता लिई जनतालाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा दिन आग्रह गरिएको छ ।