
काठमाडौं । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजान तत्काल कुनै सम्झौता नगर्ने बताएको छ ।
दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ ह्यानले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने सम्झौता नगर्ने बताउनुभएको हो । दक्षिण कोरियाले नेपाली दुतावासलाई सो विषयमा जानकारी गराइसकेको छ । दक्षिण कोरियामा रहेको नेपाली दुतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७० प्रतिशत भन्दा बढी अवैध रुपमा बसेमा ती देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिवन्ध लगाउने निति छ ।
नेपालबाट गत वर्ष मौसमी श्रमिकका रुपमा कोरिया गएका ८० प्रतिशत भन्दा बढी श्रमिक सम्झौता अनुसार स्वदेश नफर्किएका कारण कोरियाले प्रतिबन्ध लगाएको दुतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपालीलाई मौसमी श्रमिकका रुपमा लैजान रोक लगाएको थियो ।