images
images

दोलखा उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी, निर्वाचन प्रक्रिया प्रभावित

  • ११ फाल्गुन २०७९, बिहीबार १४:३६

दोलखा । निर्वाचनको मुखैमा तालाबन्दी भएपछि दोलखा उद्योग वाणिज्य संघको निर्वाचन प्रभावित भएको छ ।

यही फागुन १३ गते हुने भनिएको निर्वाचनको पूर्बसन्ध्यामा उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका प्रभावित बनेको हो । संघको वर्तमान कार्यसमितिले अवैध ढंगबाट निर्वाचन समिति बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेका हुन् । १९ सदस्यीय कार्यसमिति रहेको दोलखा उद्योग वाणिज्य संघमा बहुमत नपुग्नेगरी ९ जनाले मात्र हस्ताक्षर गरी निर्वाचन समिति बनाएको भन्दै व्यवसायीहरुले तालाबन्दी गरेका हुन् । व्यवसायीहरु सन्तोष रिमाल, नारायणबहादुर श्रेष्ठ लगायतका व्यवसायीहरुले दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल साधारणसभा स्थगित गरी बैधानिक ढंगबाट साधारणसभा गर्न आग्रह गरेका छन् ।

उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार दिनेश बस्नेतले निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भैरहेका बेला  तालाबन्दी  हुनु निर्वाचन बिथोल्ने हर्कत मात्रै भएको बताउनुभयो । वर्तमान कार्यसमिति सदस्य एबम् अध्यक्षका उम्मेदवार बस्नेतले कार्यसमितिमा छलफल भएर निर्वाचन गर्ने निर्णय गरिएको भन्दै आफैले गरेको निर्णयमा वर्तमान अध्यक्ष पछि हट्नुको कारण बुझ्न नसकिएको धारणा राख्नुभयो ।

निर्वाचन प्रभावित पार्न वा बिथोल्न खोजे सम्पूर्ण व्यवसायीहरु एकजुट भएर आफ्नो हकहितको लागि लड्ने उहाँको भनाईछ ।दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले आफुहरुले बोलाएको कार्यसमिति बैठकमा सबै उपस्थित नभएकाले उपलब्ध सदस्यहरुबाट निर्वाचन समिति बनाएको दाबी गर्नुभयो । उहाँले तत्काल कार्यसमिति बैठक बोलाएकाले बैठकले थप छलफल गरेर निर्णय लिने बताउनुभयो ।