images
images

दोलखा र रामेछापको कारागारमा क्षमता भन्दा दोब्बर कैदीवन्दी

  • ११ फाल्गुन २०७९, बिहीबार १८:०३

जिरी (दोलखा) । दोलखा र रामेछापको कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ ।

दोलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट कारागार र रामेछापको रामेछाप नगरपालिकास्थित जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको हो । चरिकोट कारागारमा हाल १ सय ५६ जना कैदीवन्दी रहेका छन् । सो कारागार ५१ जना क्षमताको हो । तर, हाल तेब्बर बढी कैदीबन्दी छन् । दोलखामा जवरजस्तीकरणी मुद्धाको बढी कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

यसैगरी, रामेछाप कारागारमा पनि क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिएको पाइएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप डाँडास्थित जिल्ला कारागारमा १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएपनि त्यसको दोब्बर कैदीबन्दी राखिएको छ । लामो समयदेखि फरार रहेका दोषी ठहरिएकाहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारागार प्रमुख रूपलाल तामाङले जानकारी दिनुभयो ।

हाल रामेछाप कारागारमा १७ जना महिला सहित ३ सय ३५ जना कैदी बन्दी छन् । ठाउँ अभावका कारण कैदीको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख तामाङले बताउनुभयो । उहाँका अनुसार एउटै कोठामा १५ जनालाई राख्ने गरिएको छ । सो कारण दुर्घटनाको जोखिम समेत बढेको जिल्ला कारागार रामेछापले जनाएको छ ।