images
images

खेलाडीको विडम्वनाः पुरस्कार घोषणामै सिमित, उपचारका लागि सहयोग माग्नुपर्ने बाध्यता

काठमाडौं । खेलका माध्यमबाट मुलुकलाई विश्वमाझ चिनाउने खेलाडीहरुले उपचारका लागि आर्थिक अभावमा  मैदानबाटै बाहिरिनुपर्ने विडम्वना छ ।

एकातिर खेलाडीहरुले उपचारका लागि सहयोग माग्नुपर्ने बाध्यात्मक अवस्था छ भने अर्काे तर्फ घोषणा गरिएका पुरस्कार समेत वर्षाैँसम्म नपाउने अवस्था छ । पदक जित्दा तामझामका साथ घोषणा गर्ने तर वर्षौंसम्म पुरस्कार नदिने प्रवृत्तिले खेलाडीहरू निराश छन्।

साम्बाको अपिल

हालै मात्र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले उपचारका लागि सहयोगको अपिल गरेकी छिन् । घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी हुन्। सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहनुपरेको जानकारी दिएकी छिन्।

साम्बा तिनै खेलाडी हुन् जसले नेपाललाई जित दिलाउन मैदानमा धेरैपटक लडेकी छिन् । त्यतिमात्रै नभई युरोपेली लिगदेखि अस्ट्रेलियाको निन्जा ए–लिगसम्म नेपाली फुटबललाई चिनाउने खेलाडी हुन्, साम्बा । नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्, उनी । कयौंपटक नेपालको जितमा निर्णायक गोल गर्ने खेलाडी साम्बा हाल उपचारका लागि आर्थिक सहयोग माग्न बाध्य छिन् ।

हाल उनी न्युजिल्यान्डस्थित क्लबमा आबद्ध छिन्। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापन (रिह्याबिलिटेसन) का लागि उक्त रकम अपुग हुने जनाइएको छ। उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ।

घोषणा गरिएको पुरस्कार माग्न मन्त्रालय धाउन बाध्य

क्रिकेटको टी–२० विश्वकपदेखि फुटबलको साफ महिला च्याम्पियनसिप र खोखोका विजेताहरू आफ्नो घोषित पुरस्कार माग्दै महिनौंदेखि मन्त्रालय धाउन बाध्य छन् । साफ महिला च्याम्पियनसिप २०७९ को उपविजेता महिला फुटबल टोलीले ३ वर्ष वितिसक्दा पनि पुरस्कार पाउन सकेको छैन।

२०७९ सालमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बङ्गलादेशसँग हार्दै उपविजेता बनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपविजेता टोलीका खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका थिए । तर, घोषणा भएको ३ वर्षभन्दा बढी भईसक्दासम्म पनि खेलाडीले पुरस्कार पाउन सकेका छैनन् । सोही पुस्कारको भागेदार नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ अहिले उपचारका लागि सहयोग जुटाउन अपिल गरिरहेकी छिन् ।

गत वर्ष भारतमा भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरुष र महिला खो–खो टोली स्वदेश फर्किंदा भव्य स्वागत पनि भयो। तर, त्यसको १३ महिना बितिसक्दा पनि खेलाडीहरूले नियमावलीमा तोकिएको रकम पाएका छैनन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पनि विश्वकप छनोट पुरस्कार नपाएको गुनासो गरेका छन् । खेलकुद विकास नियमावलीमा विश्वकपमा पुग्ने खेलाडीलाई पुरस्कार दिने व्यवस्था छ। सोही नियमावलीअनुसार गत अक्टोबरमा ओमनमा भएको छनोट चरणको उपाधि जित्दै विश्वकपमा छनोट भएको नेपाली खेलाडीले जनही १९ लाख ५० हजार पाउँछन् । ४ महिनाअघि छनोट भएको नेपाली टोलीले आईसीसी टी–२० विश्वकप खेलेर स्वदेश फर्किसक्यो। तर, छनोटबापत पाउनुपर्ने रकम अझै खेलाडीले पाउन सकेका छैनन्।

घोषित पुरस्कार रकम १६ करोड बढी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताका अनुसार अहिले १६ करोडभन्दा बढी रकम पुरस्कारमार्फत दिनुपर्नेछ। तर, राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयको बजेट अभाव तथा कानुनी जटिलताले  पुरस्कार वितरणमा ढिलाइ भएको छ।

कानुनी जटिलता र बजेट अभावका कारण पुरस्कार दिन ढिलाइ भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता बताउँछन्। कतिपय प्रधानमन्त्रीहरूले लोकरिझ्याइँका लागि पुरस्कारको घोषणा गर्दा पनि समस्या भएको राखेपको भनाई छ ।

आवरण तस्वीरः राष्ट्रिय महिला फुटबल टोली ।