
जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी माध्यमिक विद्यालयको भौतिक संरचना भुकम्पले क्षति पुर्याएको ७ वर्षपछि पुननिर्माण प्रकृया अघि बढेको छ ।
२०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच कार्यान्वयन सम्झौता भएपनि विद्यालय पुननिर्माणको काम यति लामो समयपछि अघि बढेको हो । हालसम्म विद्यालयको भवन निमार्ण कार्य सुरु हुन नसकेपनि २०२३ मार्च २४ अर्थात भोलीबाट औपचारिक रुपमा विद्यालयले चिनियाँ ठेकेदार कम्पनीलाई निर्माणस्थल हस्तान्तरण गर्ने गरी सम्झौता भएको जिरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पुर्व प्रधानाध्यापक केशवकुमार कार्कीले जानकारी दिनुभयो । आज भौतिक पुर्वाधार निर्माणका सम्बन्धमा सार्वजनिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अध्यक्ष कार्कीले यस्तो जानकारी दिनुभएको हो । धेरै लामो समयको प्रतिक्षा र धैर्यताकाबीच जिरी माविको भौतिक पुर्वाधार निर्माण प्रारम्भ हुन लागेको उहाँले बताउनुभयो ।
२०७६ साल जेठ २८ गते चिनियाँ सरकारको टोली र नेपाल सरकारको प्रतिनिधि (शिक्षा तथा मानव स्रोत विकास केन्द्र) बीच परियोजना कार्यान्वयन भएपनि २०७६ कै असोज महिनाबाट निर्माण कार्य सुरु गर्ने भनिएकोमा चीन सरकारबाट ढिलाई भएको थियो । त्यसपछि २०७६ साल पौषबाट चिनमा कोभिड महामारी फैलिएपछि लकडाउन भएसँगै विद्यालयको परियोजना सम्बन्धी विषय स्थगित भएको थियो ।
तर, पछिल्लो पटक जिरी माविको विद्यालय पुननिर्माण कार्य नेपाल र चिनीया पक्षबीच सम्झौता भई निर्माण सुरु हुन लागेको हो । विद्यालय भवन लगायतका भौतिक संरचना निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनी 19th metallurgical corporation ले पाएको छ । हाल प्राविधिक जनशक्तिको भिसाको कार्य, अर्थ मन्त्रालयमा सामग्री ल्याउनका लागि अनुमति लिने काम, चिनियाँ ठेकेदार कम्पनीको प्राविधिक कर्मचारीको लागि आवास व्यवस्थापन, कामदार आवास व्यवस्थापन तथा निर्माण, सामाग्री स्टोर निर्माण, निर्माण क्षेत्रमा घेराबार र निर्माणका लागि फिल्ड तयारीको काम भइरहेको जिरी माविका प्राधानाध्यापक कुमार जिरेलले जानकारी दिनुभयो ।
चीन सरकारको अनुदानमा निर्माण हुने विद्यालय भवन निर्माण सम्पन्न गर्नका लागि १ अर्ब ३६ करोडमा सम्झौता भएपनि लागत थपघट हुन सक्ने जिरी माविले जनाएको छ । प्रअ जिरेलका अनुसार जिरी माविमा अब अन्तराष्ट्रियस्तरको विद्यालयको पुर्वाधार निर्माण हुनेछ ।
यस्तै, टाढाबाट आउने सबै विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था हुनेछ भने शिक्षण सिकाई क्रियाकलाप आधुनिक प्रविधियुक्त हुनेछ । यसैगरी, सुचना प्रणालीका लागि सबै कोठाहरुमा डिस्प्ले सहितको साउण्ड सिस्टम हुने, आधुनिक पुस्तालयको व्यवस्था, विद्यालयको आफ्नै छुट्टै संग्राहलय र पुर्व विद्यार्थीहरुको स्मृति कक्ष तथा विद्यालयका पुर्व विद्यार्थीहरुका स्मरण योग्य विषयवस्तु तथा अभिलेख हुनेछ । विद्यालय भवनको पुननिर्माणकार्य अबको तीन वर्ष अर्थात २०८२ सालमा सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण हुनेछ ।
यसैबीच, नयाँ बन्ने भवनको बैशाख ४ गते विधिवत रुपमा शिलान्यास हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने विद्यालय भवनको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । भवन शिलन्यास कार्यक्रममा नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदुत महामहिम चेन सङ पनि जिरी आउनुहुनेछ । जिरी मावि वि.सं २०१७ सालदेखि सञ्चालनमा आएको विद्यालय हो । हाल उक्त विद्यालयमा ३ सय ३५ छात्रा र ३ सय ४ छात्र गरी ६ सय ३९ जना विद्यार्थी अध्ययरत रहेका छन् ।