
जिरी (दोलखा) । लामोसाँघु जिरी सडक अन्तर्गत सिन्धुपाल्चोकको २३ किलोमा बीच सडकमै स्काभेटर पल्टिएपछि सडक अवरुद्ध भएको छ ।
आज राती करिब ८ बजे सिन्धुपाल्चोकको मुडे भन्दा केही तल २३ किलो सडकखण्डमा स्काभेटर बीचबाटोमै पल्टिएको हो । चालकको लापरवाहीका कारण बीच सडकमै स्काभेटर पल्टिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि रामेछाप दोलखा सदरमुकाम चरिकोट हुँदै काठमाडौं जाने र जिल्ला आउने सवारीका साधन र यात्राु तथा मालवाहक सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । बीच सडकमा स्काभेटर पल्टिँदा सडक किनारमा रोकिराखेको ना ५ त ७६३४ नम्बरको ट्याक्टर क्षतिग्रस्त भएको छ ।
जंगलको बीचमा सडक अवरुद्ध भएपछि यात्रुहरुले निकै सास्ती व्यहोरेका छन् । मुडे प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी टोली पुगेपनि सडक सुचारु हुन सकेको छैन । सडक सुचारु गराउनका लागि ब्याक हो लोडर पठाइएको सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो ।