images
images

दोलखा सहितका विभिन्न उच्च पहाडी क्षेत्रमा चैतमा हिमपात, वर्षाले किसानलाई राहत

दोलखा । दोलखा सहित मुलुकका विभिन्न उच्च पहाडी क्षेत्रमा चैतमा आएर बाक्लो हिमपात भएको छ ।

मुलुकका विभिन्न उच्च पहाडी क्षेत्रमा हिजो साँझबाट हिमपात भएको हो । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा पनि बाक्लो हिमपात भएको छ । हिजो एक्कासी मौसम परिवर्तन भएर उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएको हो ।

हिउँदभर पर्याप्त हिमपात हुन नसक्दा काला पत्थरमा परिणत भएका दोलखाका गौरीशंकर हिमशृंखला सहितका उच्च पहाडी क्षेत्र चैतमा आएर सेताम्मे भएका छन् । यसअघि पनि एक/दुई पटक हिमपात भएपनि पर्याप्त हिमपात हुन सकेको थिएन । कालिञ्चोक सहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएपनि शैलुङ क्षेत्रमा भने सामान्य हिमपात भएको छ ।

माथिल्लो क्षेत्रमा हिमपात हुँदा दोलखा सदरमुकाम चरिकोटसहितका तल्लो क्षेत्रमा भने वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा गहुँ, जौ, आलुलगाएतका खाद्यबाली तथा तरकारी र फलफुल खेतीलाई असर परेको थियो । लामो समयदेखिको सुख्खा खडेरीका कारण बाली नै सुक्ने अवस्थामा पुगेको थियो । हिमपात र वर्षापछि चिसो बढेको छ ।

यस्तै, ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लगाएत मुलुकका विभिन्न उच्च पहाडी तथाहिमाली क्षेत्रमा पनि हिमपात भएको छ ।