दोलखा । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले च्छो रोल्पा हिमताल विस्फोटको सम्भावना कम रहेको बताउनुभएको छ ।
च्छो रोल्पा हिमतालमा पानीको मात्रा घटाउने प्रणाली विकास गरिएकाले हालका लागि विस्फोटको खतरा नरहेको उहाँले बताउनुभयो । हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै उहाँले विगतको तुलनामा तालमा पानीको मात्रा घटेको र पूर्व सूचना प्रणाली समेत जडान गरिएकाले डराउनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो । बर्खायाममा बाढी पहिरोको सम्भावित जोखिमलाई ख्याल गरेर जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी र प्रतिकार्य योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
दोलखामा यो वर्ष पनि बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै खोज, उद्धार र राहतका लागि आवश्यक तयारी गरिएको उहाँको भनाई छ । विपद् निम्तिएमा खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा रहेको तथा विपद् व्यवस्थापन कोषमा २ करोड भन्दा बढी रकम रहेको उहाँको भनाई छ । जिल्ला विपद् व्यवस्था समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ पोखरेलले विपद् कोषमा संघीय सरकारबाट १८ लाख र प्रदेश सरकारबाट ६ लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो ।
उहाँले विपद् व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय गर्ने भन्दै स्थानीय तहले बजेट निर्माण गर्दा विपद्को पूर्वतयारीका लागि बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औलाउनुभयो । जिल्लाको लापिलाङ लगायका क्षेत्रमा देखिएको भीषण पहिरो नियन्त्रणका लागि पहल भइरहेपनि स्रोतको कमी रहेको उहाँले बताउनुभयो । बाढी, पहिरो, आगलागी जस्ता विपद्का घटनामा परी घर क्षति भएकालाई २५ हजार र विपद्मा परी मृत्यु भएकालाई ३ लाख राहत तथा क्षतिपूर्ति दिने गरिएको उहाँले जानकारी दिनुभयो ।