काठमाडौँ । मानवअधिकारकर्मी सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् ।
दक्षिण कोरियाको राजदुतमा सिफारिस भएका मानवअधिकारकर्मी प्याकुरेलले पद अस्वीकार गर्दै प्रधानमन्त्रीलाई पत्र बुझाएका हुन् । प्याकुरेलले आज विज्ञप्ती जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रुपमा पत्र दर्ता गराईसकेको जानकारी गराएका छन् । साथै उनले दक्षिण कोरियाको राजदुत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषदबाट कुनै सम्पर्क तथा संकेत नभएको भन्दै असन्तुष्टी जनाएका छन् ।मानवअधिकारकर्मी प्याकुरेलले आफुलाई दक्षिण कोरियाको राजदुत पदमा नियुक्त गर्न सिफारिस गरिएको कुरा सञ्चारमाध्यममार्फत जानकारी पाएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्तीमा राजदुत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभुमी, कार्यक्षमता, रुची, कुटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिती सम्बन्धी ज्ञानको विषयमा विमर्श नगर्ने सरकारको प्रचलनबाट आश्चर्यमा परेको उल्लेख छ ।










