images
images

गौरीशंकर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५८ करोड ८४ लाख

  • ९ असार २०८१, आईतवार १८:४८

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५८ करोड ८४ लाख बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ८४ लाख ६ हजार ६ सय ५० रुपैयाँ बराबरको बजेट आज गाउँसभामा पेश गरेको हो । गाउँसभामा गाउँपालिकाको वडा नम्वर ३ का वडाअध्यक्ष एवम् गाउँकार्यपालिका सदस्य युगबहादुर बस्नेतले आगामी आर्थिक वर्षको आय व्यय विवरण पेश गर्नुभएको थियो । गौरीशंकर गाउँपालिकाले आगामी वर्ष वडाका लागि ४ करोड ६० लाख र पालिकास्तरीय योजनाका लागि १ करोड ९३ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, शिक्षा तथा खेलकुद शीर्षकमा २ करोड ३० लाख, स्वास्थ्यका लागि एक करोड ५० लाख, कृषी तथा पशुपन्छी विकास शीर्षकमा ५० लाख बजेट छुट्टयाईएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष विपद व्यवस्थापनका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

नीति तथा कार्यक्रम पनि आजै सार्वजानिक

गौरीशंकर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम पनि आजै सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालय सुरीमा आयोजित गाउँसभामा पालिका अध्यक्ष विश्वास कार्कीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । भोर्लेदेखि गाउँपालिका कार्यालय जोड्ने सडक कालोपत्रे सुरु गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिकाभित्रका सडकलाई स्तरोन्नति गर्दै पक्की सडक बनाउने कार्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले खानेपानी सहज आपूर्तिको लागि एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने विपद् प्रतिकार्य योजना लागु गर्ने भएको छ ।

निती तथा कार्यक्रममा चालु वर्ष निर्माण सम्पन्न भएको पालिकाको प्रशासकीय भवनबाट सेवा सुचारु गर्ने, निर्माण हुन बाँकी रहेको वडा कार्यालय र विद्यालय भवन निर्माण गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । गाउँपालिकाले पञ्चबर्षीय आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउने, घुम्ती शिविरलाई निरन्तरता, रेविज रोग मुक्त गाउँपालिका बनाउने, रोल्वालिङ क्षेत्रमा याकहरुको संरक्षण तथा प्रबद्र्धन, रैथाने उत्पादनको प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी बजारीकरणको व्यवस्था गर्ने नीति लिएको छ ।

यस्तै, सामुदायिक होमस्टे विस्तार, हनुमन्ते पर्यटन क्षेत्र विकास कार्यक्रम अघि बढाउने, स्थानीय स्तरमा सञ्चालन गर्न सकिने साना तथा मझौला उद्योेग स्थापनामा उद्योगीहरुलाई प्रोत्साहन गर्ने, गाउँपालिकाभित्र सम्भावित खानीहरुको उत्खनन् तथा लघु उद्यम सञ्चालनमा पालिकाले जोड दिएको छ । सम्पूर्ण माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विस्तार गर्ने, शैक्षिक सम्मेलन २०८१ सञ्चालन गर्ने, प्रबिधिमैत्री शिक्षा प्रणाली अवलम्बन गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।