जिरी (दोलखा) । खिम्ती खोलाले सतर्कता तह पार गरेको छ ।
रामेछापस्थित खिम्ती खोलाले जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले खिम्तीको रसनालु जलमापन केन्द्रमा गएराति देखिनै बाढीले सतर्कता तह पार गरेकोले जलसतह थप बढ्न सक्ने भन्दै आज बिहानसम्म उच्च सावधानी अपनाउन भनेको छ । महाशाखाले देशका अरु साना नदी तथा खोलामा पनि पानीको बहाव बढेकोले सावधानी अपनाउन आग्रह गरेको छ । महशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ र लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना छ । देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । लगातारको झरीका कारण केही नदी खोलामा बाढी आएको छ ।
यस्तै रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने पानीको सतह सतर्कता तहभन्दा तल रहने महाशाखाले जनाएको छ ।










