काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमण उच्च देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बागमती प्रदेशमा ५ सय ७० जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको हो । महाशाखाले जनवरी १ देखि जुलाई १८ सम्मको तथ्यांक सार्वजनिक गर्दै देशभर १ हजार ६ सय ५७ जनामा डेंगु संक्रमण देखिएको जनाएको छ । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५ सय ७० डेंगु संक्रमित फेला परेका हुन् । बागमती प्रदेशका १३ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तीमध्ये काठमाडौं, चितवन, मकवानपुर, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा उच्च संक्रमण रहेको महाशाखाको भनाई छ ।
देशभरका १० जिल्लामा डेंगुको उच्च संक्रमण रहेकोमा बागमतीका पाँच जिल्लामा पनि संक्रमणको डर बढी देखिएको हो । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा भने हालसम्म डेंगु संक्रमण देखिएको छैन । कोशीमा ३ सय ९६, गण्डकीमा २ सय ५६, लुम्बिनीमा १ सय ९६ जना डेंगु संक्रमण भएको छ भने सुदूरपश्चिममा १ सय ७५, मधेसमा ४१ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु संक्रमण भएको छ । पछिल्लो समयमा देशभर लगातार पानी परिरहेकाले डेंगु संक्रमण बढ्दै गएको महाशाखाले जनाएको छ ।
डेंगु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, श्वास प्रश्वासमा समस्या जस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ ।