images
images

बागमतीमा कांग्रेस–एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो, विहान ११ बजे दावी पेश गरिँदै

  • ८ श्रावण २०८१, मंगलवार ०८:२६

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको हो । हिजो मन्त्रालय भागबण्डा नमिल्दा एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिहं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित समय रोकिएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । आज ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । काठमाडौंमा रहेका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहानै हेटौंडा फर्किएर दाबी पेश गरिने बताउनुभयो । १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ ।