काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ ।
एमालले काठमाडौका प्रकाश श्रेष्ठ, अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो । यद्धपी, दोलखाबाट निर्वाचित सांसद भरत केसीको नाम चर्चामा रहेपनि उनी मन्त्रीको लागि छनौटमा पर्न सकेनन् । केसीले पनि शसक्त दावी प्रस्तुत गरेका थिए । दोलखावाट प्रत्यक्ष निर्वाचित सांसद केसीलाई यो पटक मन्त्रीमण्डलमा समेटेर जनमतको सम्मान गर्नु पर्ने एमाले नेतृत्वलाई दवाव थियो ।
उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ । कांग्रेस र एमालेबिच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमध्ये कसले कुन लिने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ ।
प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् । बागमतीमा कांग्रेस, एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।