
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गरेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा आज दाबी पेस गरेका हुन् । बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसंगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शमाले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए । सात राजनीतिक दल रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । सोही अनुसार एमालेको २७ र काङ्ग्रेसको ३७ गरि ६४ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित लामाले प्रदेश प्रमुख शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीको नियुक्ति आज साँझै हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । नुवाकोटा घर भएका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।
बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।