images
images

बागमतीमा एमालेका ६ मन्त्रीः कसले पाए कुन मन्त्रालय ?

  • ८ श्रावण २०८१, मंगलवार १५:४९

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको विभागीय जिम्मेवारी तोकेको छ ।

आज एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले आफ्ना मन्त्रीहरुको नाम र विभागीय जिम्मेवारी समेत टुङग्याएको हो । जसमा काठमाडौंबाट निर्वाचित सांसद प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले गत असार २४ गते एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिदाँ उनले पनि राजीनामा बुझाएका थिए । पुराना दोहोरिनेमा एमालेबाट उनी मात्रै रहेका छन् । अन्य ५ जना नयाँ अनुहारका छन् ।

यस्तै, ललितपुरबाट निर्वाचित सांसद प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, काठमाडौंबाट निर्वाचित सांसद अमन मास्केलाई भोतिक पूर्वाधार विकास मन्त्रालय, चितवनबाट निर्वाचित सांसद कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको छ ।

भक्तपुरबाट निर्वाचित सांसद किरण थापालाई स्वास्थ्य मन्त्रालय र सिन्धुलीबाट समानुमापतिक कोटाबाट निर्वाचित सांसद सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने गरी प्रदेश सरकारमा सहभागी हुन पठाउन लागिएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । बागमतीमा कांग्रेसबाट ७ र एमालेबाट ६ जना मन्त्री बन्दैछन् ।