images
images

तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री बने लामा

  • ८ श्रावण २०८१, मंगलवार १७:१३

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त भएका छन् ।

प्रदेशप्रमुख यादवचन्द्र शमाले लामालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा आज दाबी पेस गरेका थिए । बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसंगै आज कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको हो ।

सात राजनीतिक दल रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । नुवाकोट घर भएका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बनेका हुन्। २०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका लामा शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन् । २०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिएका उनी नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा निरन्तर सक्रिय छन् ।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ भोली बिहान भोलि ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालय सहित ७ वटा लिने सहमती भएको छ भने एमालेले भौतिक सहित ६ मन्त्रालय लिने सहमती भएको छ । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि भइसकेको छ ।

अबको २० महिनापछि कांग्रेसले एमालेलाई नेतृत्व हस्तान्तरण गर्ने दुई दलको सहमति छ । प्रदेशसभाको अवधि अब ४१ महिना रहेकोले दुई दलबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।