दोलखा । दोलखामा निर्माणाधिन खानीखोला जलविद्युत आयोजनाले सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ ।
खानीखोला आयोजनाको प्रवद्र्धक कम्पनी साशा ईन्जिनियरिङ हाईड्रोपावरले सर्वसाधारणका लागि २५ लाख कित्ता सेयर जारी गर्न लागेको हो । आयोजनाको कुल पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयर जारी गरिने साशा ईन्जिनियरिङले जनाएको छ । शेयर निष्काशनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड निष्काशन तथा विक्रि प्रवन्धक नियुक्त भएको छ ।
धितोपत्र निष्काशन सम्बन्धी सम्झौता पत्रमा साशा ईन्जिनियरिङ हाईड्रोका अध्यक्ष पवित्रकुमार कार्की र एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । आयोजनाको सेयर निष्काशनका लागि विक्रि प्रवन्धक तोकिएको र अब एनआईएमबी एस क्यापिटलले शेयर जारी गर्ने मिति तोक्ने खानीखोला जलविद्युत आयोजनाका डेपुटी मेनेजर छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
साशा ईन्जिनियरिङ हाईड्रोपावरले दोलखाको गौरीशंकर गाउँपालिकाको मार्वूमा ३० मेगावट क्षमताको खानीखोला जलविद्युत आयोजना निर्माण गरिहेको छ । हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको निर्माण कम्पनीले जनाएको छ ।
साधारण सेयर निष्काशन गर्न लागेको खानीखोला हाईड्रोपावरको ड्यामसाईडमा गत असारमा आएको बाढीले क्षति पु¥याएको छ । सो क्षतिका कारण दँशैपछी विद्युत उत्पादन गर्ने आयोजनाको कार्यतालिका प्रभावित हुने देखिएको छ ।