दोलखा । दोलखा प्रहरीले लागु औषधसहित थप चार जनालाई पक्राउ गरेको छ ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर ५ घर भई चरिकोट बस्दै आएका २१ वर्षीय सौरभ थापा, भीमेश्वर नगरपालिका ९ घर भई सिमपानी बस्दै आएका २१ वर्षीय सुजन तामाङ, भीनपा ७ का २२ वर्षीय साजन बुढाथोकी र भीनपा ८ का २१ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । चरिकोट आसपासको क्षेत्रमा लागु औषध विक्रि वितरण भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरिक्षक (ईन्स्पेक्टर) सत्रुधनकुमार महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न प्रकारको लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
थापाको साथबाट TRAMADUS-50 लेखिएको ५४ पत्ता ५४० क्याप्सुल बरामद भएको छ भने तामाङको साथबाट nitrazepam – tablets ip लेखिएको ३८ पत्ता, ५७० ट्यावलेट र बस्नेतको साथबाट tramadol लेखिएको १३ क्याप्सुल तथा nitrazepam – tablets ip लेखिएको १ पत्ता १५ ट्यावलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, ईन्स्पेक्टर महतोले जानकारी दिनुभयो ।
खोजतलासका क्रममा छुट्टाछुट्टै स्थानबाट साउन ४ र ५ गते पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।
दोलखा प्रहरीले यसअघि पनि ब्राउन सुगर (खैरो हिरोईन) र लागु औषध सहित ७ जनालाई पक्राउ गरेको थियो । प्रहरीले एक सातामा ३ वटा अप्रेशन गरी छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ७ जनालाई पक्राउ गरेको हो ।