जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिकाले वर्षे विदामा विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर सिक्ने अवसर प्रदान गरेको छ ।
उमाकुण्ड गाउँपालिकाले यो वर्षको वर्षे विदामा पालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत ९ र १० कक्षाका विद्यार्थीको लागि सो अवसर ल्याएको हो । वर्षे विदालाई लक्षित गरी पालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै कम्प्युटर कक्षा सञ्चालनको व्यवस्था मिलाएको उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो ।
दैनिक २ घण्टाको दरले न्यूनतम २० जना विद्यार्थीको समूह बनाई १५ दिने कम्प्यूटर ‘अफिस प्याकेज’ सम्बन्धी कक्षा सञ्चालन गर्न पालिकाले विद्यालयहरुलाई भनेको छ । विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरेवापत पालिकाले विद्यालयहरुलाई भुक्तानी दिनेछ । उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाकै विकट क्षेत्रमा अवस्थित छ ।
तर, स्थानीय सरकार आएपछि यी पालिकाका ग्रामीण क्षेत्रहरुमा पनि शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार निर्माणका क्षेत्रमा धेरै कामहरु भएका छन् । पालिकाभरका ८ वटा विद्यालयमा सञ्चालन हुने यो कार्यक्रमको लागि पालिकाले करिब साँढे ७ लाख बजेट छुट्याएको छ ।