images
images

अमेरिकी डलर साटीदिने प्रलोभनमा पारि श्रृखलावद्ध ठगी गर्ने सिन्धुपाल्चोकका दुई पुरुष पक्राउ

  • ७ भाद्र २०७९, मंगलवार १६:००

काठमाडौं । अमेरिकी डलर देखाई श्रृङखलाबद्व रुपमा ठगि गर्ने सिन्धुपाल्चोकका दुई पुरुष पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैंया साटिदिने प्रलोभनमा पारी श्रृखलाबद्ध रुपमा ठगी गरेको भन्दै सिन्धुपाल्चोक घर भई काठमाण्डौं उपत्यका बस्दै आएका दुई पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिका वडा नम्बर ३ घर भई हाल बौद्ध आरुबारी बस्दै आएका समिर भनिने संजय तामाङ र ललितपुर बस्दै आएका विष्णु तामाङ रहेका छन् । बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरमा अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले जनाएको छ ।

उनीहरुको साथबाट ठगी गर्न प्रयोग भएको नेपाली ५, १० र २० दरका नोट र केही अमेरिकी डलर समेत बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । नेपाली र अमेरिकी डलर गरी उनीहरुको साथबाट १५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरेर आफूहरुसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने प्रलोभन दिने गरेका थिए । पक्राउ परेका ती पुरुषहरु उपत्यका र बाहिर गरी यस्तै शैलीका ५ वटा घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।