काठमाडौँ । बागमती प्रदेशका चार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा उत्कृष्ट भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा बागमती प्रदेशका चार स्थानीय तह उत्कृष्ट भएका हुन् । जसअनुसार नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका पहिलो र चितवनको रत्ननगर नगरपालिका तृतीय भएका छन् । पहिलो भएको नीलकण्ठ नगरपालिकाले ९२.५० अंक पाएको छ । प्रतिवेदनमा नगरपालिका र गाउँपालिकामा दुबै धादिङका स्थानीय तहले बाजी मारेका हुन् ।
यस्तै गाउँपालिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम भएको छ भने सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका उत्कृष्ट तीनभित्र पर्न सफल भई पुरस्कृत भएको छ । प्रतिवेदन अनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकालाई मन्त्रालयले पुरस्कृत गर्दै आएको छ ।
यसैबीच, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दोलखाको नौँ स्थानीय तहमध्ये शैलुङ गाउँपालिका पहिलो भएको छ । स्वमूल्यांकनको गुणस्तर परीक्षणमा शैलुङले सबैभन्दा बढी ८५.२५ अंक पाएको छ । यस्तै, दोस्रोमा भीमेश्वर नगरपालिकाले ७५ अंक पाएको छ भने स्वमूल्यांकनमा तेस्रो भएको मेलुङले ७२.२५ अंक पाएको छ ।
जिल्लाको जिरी नगरपालिकाले ७०.७५, बैतेश्वरले ६९.२५, तामाकोशी गाउँपालिकाले ६९ अंक पाएको छ भने कालिञ्चोक गाउँपालिकाले ६८.५०, गौरीशंकर गाउँपालिकाले ६३.२५ र सबैभन्दा कम बिगु गाउँपालिकाले ४०.५० अंक पाएको सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्सिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्बाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय लगायतका सूचकहरुलाई आधार मानि स्वमूल्यांकन हुँदै आएको छ ।
सरकारले स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६/७७ बाट सुरु गरिएको भएपनि मन्त्रालयले पहिलोपटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको प्रबक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।