images
images

तयारी खानेकुराबाट कुपोषण दर बढ्दै, बागमती प्रदेशका १७ सय बढि वालवालिका कुपोषित

  • ७ भाद्र २०८१, शुक्रबार १५:१९

हेटौँडा । गत आर्थिक वर्ष बागमती प्रदेशका १७ सय भन्दा बढि बालबालिकामा कुपोषण देखिएको छ ।

गत आर्थिक वर्ष प्रदेशका १३ जिल्लाका १ हजार ७३९ बालबालिकामा कुपोषण देखिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्य सबैभन्दा बढि ललितपुर जिल्लाका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । ललितपुरका मात्रै ९१५ बालबालिकामा कुपोषण देखिएको हो ।

निर्देशनालयका अनुसार काठमाडौँमा २२०, चितवनका १८९, काभ्रेपलाञ्चोकमा ९२, सिन्धुलीमा ६९, धादिङमा ६१, मकवानपुरमा ५७ र भक्तपुरमा ४९ जना बालबालिकामा कुपोषण देखिएको छ । यस्तै, दोलखाका २०, रामेछापका १२, सिन्धुपाल्चोकका २२, नुवाकोटका १८ र रसुवाका १५ जना बालबालिकामा कुपोषण देखिएको छ ।

प्रदेशका १३ जिल्लामध्य रामेछापमा सबैभन्दा कम १२ जनामा कुपोषण देखिएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कुपोषण्को दर केही घटेपनि अपेक्षा गरेअनुसारको सुधार नभएको निर्देशनालयका प्रवक्ता एवम् जनस्वास्थ्य प्रशासक सतीश विष्टले जानकारी दिनुभयो ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा प्रदेशका १ हजार ८६६ बालबालिका कुपोषणको सिकार भएका थिए । सो वर्ष ललितपुरका ५४४, चितवनका ३३१, काठमाडौँका २७८, काभ्रेपलाञ्चोकका १४१ र धादिङका १३० बालबालिकामा कुपोषण भएको थियो ।

यसैगरी, दोलखाका ४८, सिन्धुपाल्चोकका ६१, सिन्धुलीका ७२, रामेछापका ३२, मकवानपुरका ६१, नुवाकोट र भक्तपुरका ८६÷८६ तथा रसुवाका ३ बालबालिकामा कुपोषण देखिएको थियो । पछिल्लो समय बजारमा पाईने तयारी खानेकुराका कारण बालबालिकामा कुपोषणको दर बढ्न थालेको बालरोग विशेषज्ञहरुको भनाई छ ।