दोलखा । दोलखामा लागु औषधसहित पक्राउ परेका ४ जनामध्ये ३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
दोलखा जिल्ला अदालतमा हिजो भएको थुनछेकको बहसमा न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेश बमोजिम तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना धरौटीमा रिहा भएमा छन् ।
पुर्पक्षका लागि थुनामा जानेहरुमा दोलखाको मेलुङ गाउँपालिका–५ का सौरभ थापा, भीमेश्वर नगरपालिका–९ का सुजन तामाङ र भीमेश्वर नगरपालिका–७ कासाजन बुढाथोकी रहेका छन् । यस्तै, भीमेश्वर नगरपालिका–८ का आशिष बस्नेत भने २५ हजार धरौटी राखेर रिहा भएका छन् ।
गत साउन ५ गते चरिकोट आसपासको क्षेत्रमा लागु औषध विक्रि वितरण भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरिक्षक (ईन्स्पेक्टर) सत्रुधनकुमार महतोको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न प्रकारको लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।
प्रहरीले थापाको साथबाट TRAMADUS-50 लेखिएको ५४ पत्ता ५४० क्याप्सुल बरामद भएको थियो भने तामाङको साथबाट nitrazepam – tablets ip लेखिएको ३८ पत्ता, ५७० ट्यावलेट र बस्नेतको साथबाट tramadol लेखिएको १३ क्याप्सुल तथा nitrazepam – tablets ip लेखिएको १ पत्ता १५ ट्यावलेट बरामद गरेको थियो ।