images
images

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार प्रकरणमा पूर्व सचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद

  • ७ आश्विन २०८१, सोमबार १८:१०

काठमाडौँ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका पूर्व सचिवसहित चार जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्व सचिव एवम मेलम्ची आयोजनाका तत्कालित अध्यक्ष गजेन्द्र ठाकुरससहित चार जनाको आज कैद सजाय निर्धारण गरेको हो । जसअनुसार कसुर ठहर भएका ठाकुर, सुर्यरज कँडेल र रामचन्द्र देवकोटालाई ८ वर्ष १ महिना कैद सजाय र विगो बराबरको जरिवाना तोकिएको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्धय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको ईजलासले परामर्शदाता शिवकुमार शर्मालाई पनि ८ वर्ष कैद सजाय र २ करोड ९५ लाख विगो सजायको फैसला गरेको छ । तर, उनी ६५ वर्ष नाघेको देखिएको भन्दै दुई वर्ष कैद छुट गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची आयोजनामा भ्रष्टाचार आरोपमा तीन पूर्व सचिवसहित १५ जनाविरुद्ध गत फागुनमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

त्यसमध्य पूर्व सचिव ठाकुरसहित चार जना भदौ २५ गते दोषी ठहर भएका थिए भने पूर्व सचिव भीम उपाध्याय, सञ्जय शर्मा र बाहालवाला सहसचिव रुद्रसिंह तामाङ लगाएत ११ जनाले सफाई पाएका थिए । विशेष अदालतले निर्माण र परामर्शदाता चार कम्पनीलाई समेत दोषी ठहर गरेपनि ११ जनालाई भने सफाई दिएको थियो ।