काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट (एक्सबीबी) भेटिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट (एक्सबीबी) भेटिएको हो । गत साउन २१ देखि असोज १४ सम्म कोभिड १९ को विभिन्न उमेर समूहका मानिसहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ ।
सो भेरियन्ट हाल देशका विभिन्न ठाउँमा फैलिएको र कोरोना संक्रमण बढेको मन्त्रालयको भनाइ छ । दिपावली, छठजस्ता पर्वमा संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।











