दोलखा । दोलखामा स्क्रव टाईफस संक्रमितको संख्या ४५ पुगेको छ ।
पछिल्लो समय २ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । जिल्लामा असोज महिनामा स्क्रव टाईफसका संक्रमित ह्वात्तै बढेका छन् । असोजमा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत सुजिना तमाङका अनुसार कात्तिकमा बैतेश्वर र भीमेश्वरका दुई जनामा स्क्रव टाईफस संक्रमण देखिएको छ । कात्तिक ३ गते भीमेश्वरको एक पुरुष र ४ गते बैतेश्वरकी एक महिलामा संक्रमण देखिएको हो । उनीहरुको अवस्था सामान्य रहेको छ । जिल्लामा सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा स्क्रव टाईफस संक्रमण देखिएको छ । बैतेश्वरमा ९ पुरुष र ६ महिला गरी १५ जनामा संक्रमण देखिएको हो ।
यस्तै, भीमेश्वर नगरपालिकामा ३ पुरुष र ८ महिला गरी ११ जनामा स्क्रव टाईफस देखिएको हो । कालिन्चोकमा ५, गौरीशंकरमा २ पुरुष र १ महिला गरी ३ जना तथा बिगु र शैलुङमा ३÷३ जनामा संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत तमाङले बताउनुभयो ।
स्क्रव टाईफसको लक्षण देखिएमा पहिचानका लागि दोलखाको पशुपति चौलागाईँ स्मृती अस्पताल, जिरी अस्पताल, बैतेश्वर अस्पताल, शैलुङ अस्पताल र सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण हुँदै आएको छ ।
स्क्रव टाईफस मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेमा सर्ने गर्दछ । यसको संक्रमण भएमा कडा ज्वरो आउने, आँखा रातो हुने, लगातार टाउको दुखिरहने, पेट दुख्ने, झाडापखाला, स्वास फेर्न समस्या, जोर्नि र मांशपेशी दुख्ने, शरीरमा बिबिरा देखिने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखिने गर्दछ ।
जनस्वास्थ्य कार्यालय दोलखाले यो रोगलाई महामारीको रुपमा फैलिन नदिनका लागि आफ्नो घर वरपर फोहोर र झाडी सफा गर्ने तथा मुसा नियन्त्रण गर्न आग्रह गरेको छ ।