images
images

निर्वाचन आयोगले माग्यो दोलखाका मुख्य निर्वाचन अधिकृतको राय

  • ७ मंसिर २०७९, बुधबार ०८:१४

दोलखा । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई बुथ कब्जा भएको भनिएको स्थानको यथार्थ राय पठाउन पत्राचार गरेको छ ।

आईतबार सम्पन्न निर्वाचनमा गठबन्धन दलले दोलखाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगले यर्थाथ राय पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको हो । उम्मेदवारले उजुरी हालेको ठाउँमा के भएको हो ? के गर्नुपर्ने हो ? थप बुझेर यथार्थ राय पठाउन मुख्य निर्वाचन अधिकृतलाई आयोगले पत्र मार्फत भनेको छ । निर्वाचन आयोगले पठाएको पत्र प्राप्त भइसकेको दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले पठाएको पत्रको जवाफ तत्काल पठाउनेगरी प्रक्रिया अघि बढेको छ । आयोगले पठाएको पत्रमा बुथ कब्जा भएको भनिएको ठाउँको विषयमा निर्वाचन आयोगले निर्णय नगरि मतगणना सुरु नगर्न पनि भनिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको तीन दिन भइसकेपनि दोलखामा मतगणना सुरु हुन सकेको छैन । नेकपा एमाले दोलखाले जिल्लाको बिभिन्न ५ बुथको निर्वाचन रद्ध गरी पुनः निर्वाचन गर्न माग गर्दै निर्वाचनकै दिन उजुरी दिएको थियो । सो उजुरी उपर आयोगले अध्ययन गरिरहेको बताएको छ । मतगणना गर्न आयोगको निर्णय गर्नुपर्ने भएकाले दोलखामा मतगणना कहिलेबाट सुरु हुन्छ ? भन्ने विषयमा अन्योलता देखिएको छ ।