images
images

मतगणना सुरु गर्न माग गर्दै गठबन्धनका युवाद्धारा चरिकोटमा सिठी जुलुस प्रदर्शन

  • ७ मंसिर २०७९, बुधबार १३:२९

दोलखा । आईतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै वाम लोकतान्त्रिक गठबन्धनका युवाहरुले चरिकोटमा सिठी जुलुस प्रर्दशन गरेका छन् ।

मतदान सम्पन्न भएको चार दिनसम्म पनि मतगणना सुरु नभएपछि नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र लगायत बाम गठबन्धन दलका युवा बिद्यार्थी तथा भातृ संस्थाहरुले सदरमुकाम चरिकोटमा सिठी जुलुस सहित बिरोध प्रदर्शन गरेका छन् । युवा र बिद्यार्थीले सिठी बजाउँदै मोटरसाईकल ¥याली गर्नुका साथै मतगणना स्थल गौरीशंकर बहुमुखी क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले मुख्य निर्वाचन अधिकृत बिरुद्ध नाराबाजी समेत गरेका छन् । दोलखामा मतगणनामा ढिलाई हुँदा वातावरण बिग्रदै गएको छ । गठबन्धनका उम्मेदवार नेता तथा कार्यकर्ता आक्रोसित बन्दै गैरहेका छन् । एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिल्लाका बिभिन्न बुथ कब्जा भएको भन्दै उजुरी दिएपछि मतगणना कार्य अगाडि बढ्न सकेको छैन । निर्वाचन आयोगले हिजोमात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै उजुरीउपर निर्णय नभएसम्म मतगणना सुरु नगर्न निर्देशन दिएको थियो ।

निर्वाचन आयोगले बुथ कब्जा भएको सम्बन्धि उजुरीको छानविन गर्न सह सचिब यज्ञप्रसाद भट्टराईको संयोजकत्वमा गुरु वाग्ले र मोहनराज जोशी सदस्य रहेको छानविन समितिलाई दोलखामा खटाएको छ । सो समितिले आज बिहानैदेखि सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ ।