images
images

अधिकृतलाई ‘मतियार’ देखि सुरक्षाकर्मीलाई ‘निर्वाचन द्रोही’ घोषणा गर्ने एमालेको चेतावनी

  • ७ मंसिर २०७९, बुधबार २३:४३

दोलखा । दोलखामा ‘बुथ कव्जा’ भएको भनेर नेकपा एमालेका उम्मेदवारले गरेको उजुरी उपर निर्वाचन आयोगको छानविन समितिले छानविन गरिरहेका बेला एमाले दोलखाले प्रमुख जिल्ला अधिकारी देखि सुरक्षा निकायका प्रमुख र निर्वाचनमा खटिएका मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्मलाई चेतावनीपूर्णअभिव्यक्ति दिएको छ ।

आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोलखामा ५ वटा मतदान केन्द्रमा बुथ कव्जा भएको भन्दै एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि सो उपर छानविन भईरहेका बेला दोलखा एमालेले कर्मचारी र सुरक्षाकर्मीलाई विवादमा तान्ने गरि चेतावनीपूर्ण अभिव्यक्ति दिएको हो । एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरको फेसबुक पेजवाट बुथ कव्जा र गैरराजनीतिक क्रियाकलाप बिरुद्धको अभियान भन्दै १३ बुँदामा सार्वजनिक गरिएको एमालेको अभिव्यक्तिमा निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई ‘जनमत खोस्ने मतियार कर्मचारी’ घोषणा गरेर मुद्धा दायर गर्ने देखि सुरक्षाकर्मीलाई ‘निर्वाचन द्रोही’ घोषणा गर्ने सम्म रहेको छ ।

एमालेले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा प्रमुख जिल्ला अधिकारी देखि सुरक्षा निकायका प्रमुखसम्मलाई घुमाउरो पाराले धम्कि दिईएको छ । एमाले उपाध्यक्ष मानन्धरको पेजमा सार्वजनिक एमालेको अभिव्यक्तिको २ नम्बर बुँदामा स्वच्छ, निश्पक्ष, भयरहित र निर्वाचन अयोगको निर्देशन पालना नगर्ने दोलखा प्रशासन प्रमुख, सुरक्षा प्रमुहरुको निर्वाचनको क्रममा कर्तव्य पालना बारेको भूमिकाको अध्ययन गर्ने र सोही अनुसारको व्यवहार गर्ने उल्लेख छ । यस्तै, बुथ कव्जा गराउन सहयोग गर्ने, कानुनी प्रक्रिया मिलाई दिने र निर्वाचनको क्रममा सवै ठिक छ भनेर झुठा विवरण दिईरहने र बुथ कव्जालाई सघाउने मतदान अधिकृतलाई जनमत खोस्ने मतियार कर्मचारी घोषणा गरी तथ्यप्रमाण सहित उनीहरु बिरुद्ध मुद्धा दायर गर्ने उल्लेख छ ।
एमालेले मतदानस्थलमा प्रलोभन र सेटिङमा संलग्न भएर कर्तव्य निर्वाह नगरी बुथ कव्जालाई सघाउने सुरक्षाकर्मीलाई सबुत प्रमाणको आधारमा निर्वाचन द्रोही घोषणा गरी जनतामाझ सार्वजनिक गर्ने चेतावनी दिएको छ । एमाले दोलखाले यसअघि नैं बिज्ञप्ति जारी गरी दोलखामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुहरुको मिलेमतोमा बुथ कव्जा भएको आरोप लगाएको थियो ।

निर्वाचन आयोगले जिल्लामा छानविन समिति खटाएर बुथ कव्जा गरिएको भनिएका मतदान केन्द्रका बारेमा सरोकारवालासँग छलफल भईरहेका बेला एमालेका नेताहरुले सार्वजनिक गरेको चेतावनीपूर्णअभिव्यक्तिले छानविन प्रक्रिया प्रभावित हुने आशंका गरिएको छ । एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले जफेका दुई मतदान केन्द्र, भेडपु, नाम्दु, गैरीमुदी र जुँगुको मतदान केन्द्रमा बुथ कव्जा भएको भन्दै उजुरी दिएपछि अहिलेसम्म दोलखाको मतगणना सुरु हुन सकेको छैन ।