दोलखा । दोलखाको भीमेश्वर नगरपालिका २ राम्पास्थित प्रगती बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ ।
साधारणसभाले प्रकाश सुवेदीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय सञ्चालक समिति र जंगबहादुर थामीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको हो । नयाँ सञ्चालक समितिको उपाध्यक्ष देवमणी सुवेदी, सचिवमा रामप्रसाद दाहाल, सहसचिव नारायण कार्की र कोषाध्यक्षमा तुलसा मैनाली चयन भएका छन् ।
प्रगती साकोसका निवर्तमान अध्यक्ष जगत प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न २६ औँ वार्षिक साधारणसभाको बागमती प्रदेश बचत तथा ऋण सहकारी सँघका वरिष्ठ उपाध्यक्ष जिवशराज खड्काले उद्धघाटन गर्नुभयो ।
साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको कूल पूँजी ७ करोड ३० लाख ४ हजार ३८० र शेयर पूँजी ६५ लाख २ हजार ८ सय रुपैयाँ रहेको छ । ५ करोड ५४ लाख ७ हजार ३६४ रुपैयाँ बचत रहेको प्रगती साकोसले ४ करोड २५ लाख ९९ हजार ९२ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीमा १२ सय १७ शेयर र ४७७ बाल सदस्य गरि कुल १६ सय ९४ जना सदस्य रहेका छन् ।
७५ वर्ष माथिका सदस्यलाई २४ सय भत्ता
प्रगती साकोसले यो वर्षबाट ७५ वर्ष भन्दा माथिका सेयर सदस्यलाई बार्षिक २ हजार ४ सयका दरले भत्ता दिन सुरु गरेको छ । जसअनुसार यो वर्ष ५ जना सदस्यलाई भत्ता वितरण गरिएको छ । ७५ वर्ष माथिका सदस्यलाई औषाधी उपचारमा सहयोग स्वरुप सो रकम प्रदान गरिएको र यो वर्षबाट सुरु भएको कार्यक्रम निरन्तर रहने निवर्तमान अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । ७५ वर्ष उमेर पुरा भएका सहकारीका सक्रिय सदस्यले वार्षिक रुपमा यो सेवा पाउनेछन् ।
पत्रकार घिमिरे पुरस्कृत
प्रगती साकोसको यो वर्षको सहकारी पत्रकारिता पुरस्कारबाट दोलखाका पत्रकार सिर्जन घिमिरे पुरस्कृत भएका छन् ।
दिक्षण दैनिकका सम्पादक घिमिरेलाई नगद ५ हजार र सम्मानपत्र सहित सम्मान गरिएको हो । प्रगती साकोसले प्रत्यक वर्ष सहकारी क्षेत्रमा कमल चलाउने पत्रकारलाई सम्मान गर्दै आएको छ ।
साधारणसभाको अवसरमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट व्यवसाय सञ्चालन गर्ने सदस्य तथा चार जना ज्येष्ठ सदस्य, र एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।
साधारणसभाको अवसरमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी सँघका उपाध्यक्ष नारायण श्रेष्ठ, जिल्ला सहकारी सँघका महासचिव दिलबहादुर केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।