images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन

  • ८ पुष २०७९, शुक्रबार ०८:०२

जिरी (दोलखा) । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि १३ गते निर्वाचन हुने भएको छ ।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि पुस १३ गते निर्वाचन हुने भएको हो । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको छ । समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । निर्वाचन संसदीय दलको कार्यालय हेटौंडा परिसरमा गर्ने समितिले निर्णय भएको छ ।

दलको नेता चयनको लागि हुने निर्वाचनअन्तर्गत पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो २ देखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय रहेको छ ।
दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली पुस १२ गते दिउँसो ४ बजे प्रकाशन गरिनेछ । यसैगरी पुस १३ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि मनोनयनको समय राखिएको छ भने सोही दिन बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ ।

उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि बिहान ११ बजेदेखि ११ः३० सम्मको समय तय गरिएको छ । सोही दिन दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिने छ । पुस १३ गते दिउँसो १२ः३० देखि दिउँसो १ः३० सम्म उम्मेदवारले नाम फिर्ता लिन सकिने छ भने दिउँसो १ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । २ बजेबाट मतदान सुरु हुनेछ ।

बागमती प्रदेशमा कांग्रेसबाट संस्थापन पक्षकै २ जना कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेताका लागि चुनावी मैदानमा उत्रिँदैछन् । कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको समेत चर्चा छ । पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि दलको नेता बनेर मुख्यमन्त्रीमा आफ्नो दावी राख्ने उनको दाउ छ ।

बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीका दाबेदार थिए । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्य मन्त्री बन्न सकेनन् ।