
जिरी (दोलखा) । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।
दोहोरो भूमिकामा रहेका पाण्डेले आज प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनुभएको हो । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि पाण्डेले प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा हिजो प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचित भएर शपथ लिएको भन्दै पाण्डेको आलोचना समेत भएको थियो ।
पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ साल कात्तिक ११ गते निर्वाचित हुनुभएको थियो । एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट उहाँले सत्ता नेतृत्वको अवसर पाउनुभएको थियो ।
यस अघि बागमती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् ।