काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ ।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने प्रदेश सम्मेलनको उद्घाटन आज बिहान ८ बजे कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने भएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका ७ सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सांसद, प्रदेशसभा सदस्य र क्षेत्रीय सभापति सहभागी हुने बताउनुभयो ।
पहिलोपटक हुन लागेको प्रदेश सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुत हुने र छलफल गरी पारित हुनेछ ।
यस्तै, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा १ सय १९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुने भएका छन् ।










