images
images

दोलखा महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

  • ७ पुष २०८०, शनिबार १३:२२

दोलखा । दुई जना पूर्व प्रधानमन्त्रीहरुको दोलखा भ्रमण लगत्तै बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि दोलखा आउनु हुने भएको छ ।

दोलखा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोलखा महोत्सव–२०८० को समुद्घाटनकालागि प्रधानमन्त्री प्रचण्ड दोलखा आउन लाग्नुभएको हो । महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री आउने निश्चित भएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रवहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्ड पुस १३ गते दिउँसो हेलिकोप्टर मार्फत दोलखा आउने र महोत्सवको समुद्घाटन गरेर फर्किने कार्यक्रम छ ।
पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोलखा आगमन लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका बर्तमान प्रधानमन्त्री प्रचण्ड पनि दोलखा आउन लाग्नुभएको हो । यसअघि एमाले अध्यक्ष ओली एमालेको संकल्प यात्रा यात्रा अभियानको क्रममा मंसिर २५ गते दोलखा आउनु भएको थियो भने नेकपा एसका अध्यक्ष नेपाल पार्टीको जिल्ला अधिवेशन उद्घाटनकालागि मंसिर ३० गते आउनु भएको थियो ।

यसैवीच, पुस १३ गतेदेखि पुस २२ गतेसम्म हुने दोलखा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रवहादुर श्रेष्ठले महोत्सवको तयारी करिव–करिव पुरा भएको जानकारी दिनुभयो । महोत्सवस्थलमा डेढ सय बढी स्टल राखिने तयारी गरेकोमा अहिलेसम्म एक सय बढी स्टल बुकिङ भईसकेको आयोजक संस्थाका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो । दोलखा महोत्सवमा स्थानीय घरेलु र मौलिक उत्पादनका स्टलहरु राखिने छ । महोत्सवमा दोलखामा लगानी र अवसरको पहिचान गर्न उद्योगी, व्यवसायी वीच छलफल र बहश गरिनुका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती हुने आयोजकले जनाएको छ ।

महोत्सवकालागि दोलखा सदरमुकाम चरिकोट बेहुली झैं सिँगारिदै छ । बजार क्षेत्रमा ध्वजापतका टाँगेर आकर्षक बनाईएको छ । महोत्सवको समापन समारोह अर्थमन्त्री प्रकाशसरण महतको प्रमुख अतिथिमा हुने आयोजकले जानकारी दिएको छ ।