images
images

जिरीको १५ औं नगरसभा सम्पन्न, भ्रमण वर्षलाई भव्य बनाउन ३० लाख बजेट थप

  • ८ पुष २०८१, सोमबार २१:२४

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ ।

आज जिरी नगरपालिकाले १५ औं नगरसभा सम्पन्न गरेको हो । नगर सभामा सभाअध्यक्ष एवम् नगरप्रमुख मित्र बहादुर जिरेलले गत आर्थिक वर्ष २०८०/८१ मा कार्यान्वयन गरेका नगरस्तरीय, संघीय ससर्त, संघीय समपूरक, प्रदेश ससर्त र प्रदेश समपूरक तर्फका योजना तथा कार्यक्रमहरुको प्रगति, तथा खर्च र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको बारेमा जानकारी दिनुभएको थियो भने उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको आय/व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले केही कार्यक्रम र बजेटलाई संशोधन गरेको छ । चालु आर्थिक वर्षका लागि ५५ करोड ९ लाख ८८ हजार बजेट स्वीकृत गरेकोमा ७४ लाख ५० हजार बजेट थप गरी ५५ करोड ८४ लाख ३८ हजार पुर्याइएको छ । नगरपालिकाले यो वर्ष मनाउन लागेको भ्रमण वर्षको लागि ३० लाख बजेट थप गरेको छ । यसअघि ८ करोड बजेट छुट्याएको नगरले ३० लाख थप गरी ३८ लाख पुर्याएको हो ।

यसैगरी नगरस्तरीय र जिरीमै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि १७ लाख बजेट विनियोजन गरेकोमा ८ लाख थप गरी २५ लाख बजेट विनियोजन गरेको नगरले जनाएको छ । भ्रमण वर्ष मनाईरहँदा जिल्लास्तरीय प्रतियोगिता पनि जिरी नगरमै गर्ने भएकोले ८ लाख थप गरेको बताइएको छ ।

यस्तै, नगर कार्यापालिका तथा वडा कार्यालयहरुको कम्प्युटर, प्रिन्टर लगायतका इलेक्ट्रोनिक्स सामाग्री खरिद तथा मर्मतका लागि १५ लाख बजेट विनियोजन गरेको उपप्रमुख खड्काले बताउनुभयो । सभामा आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर १ का अध्यक्ष आङपासाङ शेर्पाले आर्थिक ऐन २०८१ को संसोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सामाजिक विकास समितिका सदस्य रोमकुमारी समाल जिरेलले नगर युवा तथा खेलकुद परिषद ऐन–२०७९ संसोधित प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

नगरसभामा वडाध्यक्षहरु, वडा सदस्य तथा कार्यपालिका सदस्यहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा लगायतको सहभागीता थियो ।